नेशनल लघुवित्तको ५८ हजार कित्ता सेयर लिलाम बिक्रीमा
१३ वैशाख, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५८ हजार १५६ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी सुवाष भट्टराईको नाममा रहेको ४८ हजार ६५६, माधव प्रसाद अधिकारीको नाममा रहेको २ हजार र श्याम बहादुर गुरुङको नाममा रहेको ७ हजार ५०० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सुचना जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको थियो । तर उक्त अवधिमा संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेका कारण अब भने सर्वसाधारणका लागि खुला गरेको हो ।
सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले यही वैशाख २२ गतेभित्र काभ्रेपालञ्चोकको बनेपा–१० स्थित नेशनल लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बैंकिङ्ग समयभित्र आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : 12:53









