११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने अवधि थप

११ वैशाख, काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको सेयरमा अब वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा वैशाख १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो। तर वैशाख १० गते साँझसम्ममा कुल १४ लाख ५० हजार २७१ कित्ता सेयरका लागि मात्र आवेदन परेको छ। मागभन्दा कम आवेदन परेकोले कम्पनीले निष्काशन अवधि थप गरेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : 09:43