अमेरिकी नौसेनाको नाकाबन्दी रहेसम्म इरानले होर्मुज बन्द गर्ने
१० वैशाख, तेहरान । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ ।
यसैबीच क्षेत्रीय तनाव चर्किंदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताउनुभएको छ । इरानले भने पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे थप प्रतिक्रिया दिएको छैन ।
इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीको नेतृत्व गर्नुभएका संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नौसैनिक नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने स्पष्ट पार्नुभयो । उहाँका अनुसार युद्धविरामको स्पष्ट उल्लङ्घन भइरहेकाले होर्मुज जल डमरूमध्य खोल्ने अवस्था छैन ।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेल बजारमा अस्थिरता बढेको छ । युद्ध फेरि भड्किने आशङ्काले मूल्य उकालो लाग्दै आएको छ, यद्यपि अमेरिकी सेयर बजारले केही स्थिरता देखाएको छ । ट्रम्पले इरानको नेतृत्वलाई प्रस्ताव ल्याउन समय दिन खोजेको बताउनुभएको छ, जसलाई कतिपयले नयाँ युद्ध टार्ने कूटनीतिक प्रयासका रूपमा हेरेका छन् ।
इरानले वार्तामा औपचारिक सहभागिता पुष्टि नगरेको अवस्थामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण स्थगित भएको छ । तथापि, ट्रम्पले केही दिनभित्रै वार्ता पुनः सुरु हुन सक्ने बताउनुभएको छ । यसैक्रममा ट्रम्पले इरानले मृत्युदण्ड दिन लागेको भनिएका आठ महिलाको सजाय रोकिएको दाबी गरे पनि इरानी न्यायपालिकाले त्यसलाई ‘गलत सूचना’ भन्दै खारेज गरेको छ ।
उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज हुँदै जाने दुई जहाज नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये पनामा झण्डा बोकेको ‘एमएससी फ्रान्सेस्का’ र लाइबेरियाको ‘एपामिनोन्डास’ रहेको बताइएको छ । पनामाले यस घटनालाई समुद्री सुरक्षामाथिको गम्भीर आक्रमण भनेको छ भने बेलायतस्थित समुद्री निगरानी संस्थाहरूले पनि जल डमरूमध्यमा सैन्य गतिविधि बढेको पुष्टि गरेका छन् ।
ओमान नजिकै एक कन्टेनर जहाजमाथि गोली प्रहार हुँदा संरचनात्मक क्षति पुगे पनि मानवीय क्षति नभएको रिपोर्ट सार्वजनिक भएको छ । उता, अमेरिकी सेनाले इरानी बन्दरगाहसँग सम्बन्धित जहाजहरू रोक्ने प्रयास जारी राखेको छ, जसले पूर्ण युद्ध बिना नै इरानमाथि आर्थिक दबाब बढाउने रणनीति देखिन्छ ।
यसैबीच पेन्टागनले अमेरिकी नौसेनाका सचिव जोन फेलानले तत्काल पद छोड्ने घोषणा गरेको छ, तर यसको कारण खुलाइएको छैन । रक्षामन्त्री पीट हेग्सेथको नेतृत्वमा उच्च तहमा फेरबदल भइरहेको सङ्केत देखिएको छ ।
इरानले अब होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि युद्धविरामका बेला स्वतन्त्र आवागमन दिने बताएको इरानले अमेरिकी नाकाबन्दीपछि नीति कडा बनाएको हो । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन् ।
यता इरानसँगको तनावबीच लेबनान र इजरायलबीचको अवस्था पनि तनावपूर्ण नै रहेको छ । युद्धविराम घोषणा भए पनि इजरायली आक्रमणमा थप पाँच जनाको ज्यान गएको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीमा क्षेत्रमा भएको हमलामा पत्रकार अमल खलिलको मृत्यु भएको र अर्की पत्रकार जीनाब फराज घाइते भएकी छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरूमाथि भएको आक्रमणमा घाइते भएका दोस्रो फ्रान्सेली सैनिकको पनि मृत्यु भएको जानकारी दिनुभयो । उक्त घटनाको जिम्मेवारी हिजबुल्लाहले अस्वीकार गरेको छ ।
इजरायल र लेबनानबीच वासिङ्टनमा हुने दोस्रो चरणको वार्तामा युद्धविराम एक महिना थप गर्न आग्रह गरिने बताइएको छ । लेबनानले इजरायली आक्रमण रोक्न र युद्धविरामको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न दबाब दिने तयारी गरेको छ ।
प्रकाशित मिति : 14:33









