७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

योगेश भट्टराई को प्रश्नः एमालेले खाएको चुनावी धक्काको जिम्मेवारी कसले लिने ?

७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्ष पूरा भई ७७औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र गम्भीर वैचारिक तथा राजनीतिक बहस गर्न आह्वान गर्नुभएको छ।

उहाँले २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठ को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गर्दै यस अवधिमा पार्टीले फुट, विभाजन, एकता र पुनर्गठनका अनेक चरण पार गरेको उल्लेख गर्नुभएको छ।

भट्टराईले पार्टीले सफलता र असफलता दुवै अनुभव गरेको उल्लेख गर्दै मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेताहरूले निर्माण गरेको वैचारिक विरासत अहिलेको नेतृत्वका लागि ‘अग्निपरीक्षा’ भएको बताउनुभएको छ।

dainiki.com

उहाँले जनताको बहुदलीय जनवाद (जबज)को सही बुझाइ र व्यवहारिक कार्यान्वयनबारे प्रश्न उठाउँदै पछिल्लो निर्वाचनमा आएको धक्काको कारणबारे समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

नीति, नेतृत्व, संगठन, कार्यशैली र व्यवहारमा भएका कमजोरीबारे खुलेर बहस गर्नुपर्नेमा जोड दिँदै उहाँले जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्नुपर्ने धारणा राख्नुभएको छ।

भट्टराईले पार्टी पुनर्जागरण र पुनःउत्थानका लागि साझा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता औंल्याउँदै राजधानीमा रहेका नेता–कार्यकर्तालाई वैशाख ९ गते अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उपस्थित हुन आग्रह गर्नुभएको छ। साथै, राजधानी बाहिर रहेका कार्यकर्तालाई पनि तोकिएको स्थानमा भेला भई छलफल गर्न अपिल गर्नुभएको छ।

अन्त्यमा उहाँले नेकपा स्थापना दिवसको शुभकामना व्यक्त गर्दै उक्त दिनलाई आत्ममन्थन र मार्गनिर्देशनको अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ।

 

प्रकाशित मिति : 13:34