६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका एजेन्डा

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । बैठकका लागि ९ वटा एजेन्डा तय गरेको झाले जानकारी दिनुभयाे ।

सोमबारको बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ । यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाले बताउनुभयाे ।

त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदाबारे, विधान संशोधनबारे, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा, सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा छलफल हुँदैछ । रास्वपाले विविध शिर्षमा तीन वटा प्रस्तावमा छलफल हुने बताइएकाे । विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा, विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे निर्देशन र संशदीय दलको विधान संशोधनबारे उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 16:22