एडिलेडमा नयाँ बर्ष अभिभावकहरु संग वनभोज गरेर मनाईयो
एडिलेड । एडिलेड नेपाली समाजको आयोजनामा नयाँ बर्ष २०८३ को शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
समाजले २०१८ देखी नेपालबाट साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुका लागि बनभोज गर्न शुरु गरेको हो । त्यसै गरि बिक्रम संवतको नयाँ बर्ष अर्थात नेपाली नयाँ वर्षको सन्दर्भमा पनि शुभकामना आदान प्रदान गर्दै आएका छ । विगतमा कार्यक्रम छुट्टा छुट्टै मितिमा गरिए पनि २०८० को नयाँ बर्षबाट दुवै कार्यक्रमलाई एकदिनमा मनाउदै आएको छ ।
कार्यक्रममा अभिभावकहरु सहित यहा रहेको नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो ।
३०० भन्दा बढि अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ९०० भन्दा बढिको सहभागीतामा भएको वनभोज स्थानिय अक्ल्याण्ड पार्कमा आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि साउथ अष्ट्रेलियाली बहुसांस्कृतिक आयोगकी अध्यक्ष लुइसा ग्रेकोले नेपाली समुदायलाई नयाँ बर्षको शुभकामना दिदै नेपाली समुदायको प्रशंशा गर्नु भएको थियो ।
समाजका पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले संचालन गर्नु भएको कार्यक्रममा विशेष अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमला, एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङले नयाँ बर्षको शुभकामना दिनु भएको थियो ।
अभिभावक तथा बालबालिकाहरुका लागि आयोजित हाडी फोर, चम्चा दौड लगायतका खेलकुदमा सहभागीहरुले उत्साह पुर्वक सहभागी भएका थिए । नेपाली भजन कृतन समुहको अगुवाईमा भएको भजन कीर्तन सहित विभिन्न नेपाली गित संगितमा सहभागीहरुले नाच गान गरेका थिए ।
दैनिकी संग कुरागर्दै अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावक तारा पौडेलले यति धेरै साथीहरु तथा बालबालिकाहरु सहित पार्कमा वनभोजमा सहभागी हुन पाउदा खुशी लागेको बताउनु भयो । उहा संगै रहनु भएका विवेक घिमिरेले निकै रमाइलो भएको बताउदै नेपालका चाड पर्व मेलाहरु गएको भन्दा बढि रमाइलो गरेको बताउनु भयो । अर्का सहभागिता कला तिमिल्सिनाले पार्क मानिस भेला पारेर खेलकुद खेलाउने, भजन कीर्तन गराउने र अन्तिममा मिठो खान खुवाउने कार्यक्रम गर्ने आयोजकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनमा कार्यक्रमका सौजन्यकर्ता व्यवसायी हरु र विभिन्न खेलमा बिजयीहरुलाई प्रमुख अतिथि साउथ अष्ट्रेलिया अष्ट्रेलियाली बहुसांस्कृतिक आयोगकी अध्यक्ष लुइसा ग्रेको, समाजका अध्यक्ष श्याम दहाल, पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, उपाध्यक्ष बालगोपाल उपाध्यायले मायाको चिनो तथा पुरस्कार वितरण गर्नु भएको थियो । पुरस्कार वितरण कार्यक्रमको संचालन उपाध्यक्ष बालगोपाल उपाध्यायले गर्नु भएको थियो । भने यस अघि खेलकुद प्रतियोगिता संचालन पव्लिक रिलेसन अफिसर सुरेन्द्र रेग्मीले गर्न भएको थियो ।
कार्यक्रमको समापन गर्दे समाज अध्यक्ष श्याम दहालले समाजको निमन्त्रणालाई स्विकार गरेर ठुलो संख्यामा उपस्थित हुनु भएका सहभागीहरु प्रति कृतज्ञता व्यक्त गर्दै नेपालबाट भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मान तथा यहा रहेको नेपाली समुदाय विचमा नयँ बर्षको शुभकामना आदान प्रदान गर्न समाजले वनभोज गर्दै आएको बताउनु भयो । उहाले कार्यक्रममा नेपालीजनहरुको उत्साहले आगामी वर्षहरुमा कार्यक्रम गर्न समाजलाई थप प्रेरित गरेको बताउनु भयो ।



प्रकाशित मिति : 12:57









