केपी ओली २१ दिनपछि अस्पतालबाट डिस्चार्ज
५ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उहाँ अस्पतालबाट डिस्चार्ज भई भक्तपुरको गुण्डुस्थित आफ्नै निवास फर्किएको उहाँको सचिवालयले जनाएको छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनाबारे अनुसन्धान गर्न प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो। पक्राउपछि सोही दिन स्वास्थ्य परीक्षणका लागि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। परीक्षणका क्रममा स्वास्थ्य समस्या देखिएपछि उहाँ अस्पतालमै भर्ना हुनुभएको थियो ।

अस्पतालमै हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यसैबीच, ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि अदालतको परमादेशमार्फत चैत २६ गते उहाँ हिरासतमुक्त हुनुभएको थियो ।
हिरासतमुक्त भए पनि प्रहरीले अस्पतालमै उहाँलाई पत्नी राधिकाको जिम्मा लगाउँदै हाजिरी जमानीमा रिहा गरेको थियो।
यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो । जसको शल्यक्रिया चैत ३० गते गरिएको थियो। त्यसपछि थप ६ दिन उपचारपछि अस्पतालले उहाँलाई डिस्चार्ज गरेको हो।
प्रकाशित मिति : 20:13









