८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सोपान फर्मास्यूटिकल्ससोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो

३ वैशाख, काठमाडाैँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (बैशाख ३) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। कुल निष्काशित शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जुन बाँडफाँट भइसकेको छ। यसका साथै १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई समेत वितरण गरिसकिएको छ।

अब दोस्रो चरणअन्तर्गत बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर हुन्छ। प्रति कित्ता १०० रुपैयाँ अंकित दर तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद बैशाख ८ गतेसम्म कायम गरिएको छ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा बैशाख १७ गतेसम्म अवधि थप हुन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

रेटिङतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

वित्तीय सूचकअनुसार कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको जनाइएको छ।

प्रकाशित मिति : April 16, 2026 at 8:18 am