२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू

२ वैशाख, काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।

बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गर्दै स्वीस सरकारबाट प्राप्त अनुदान स्वीकार गर्ने, राजस्व प्रशासन सुदृढ गर्ने तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठन गर्ने निर्णय गरेको छ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप कोषका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त १० लाख स्वीस फ्याङ्क बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक, निर्देशक तथा विभिन्न करदाता कार्यालयका प्रमुख र कर अधिकृतहरूलाई तोकिएको कार्यक्षेत्र हेर्नेगरी अन्तस्शुल्क अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ। यस निर्णयले कर प्रशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९तेस्रो संशोधन० नियमावली, २०८२ स्वीकृत गरेको छ भने संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ पनि पारित गरेको छ।

यसैबीच, नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधिसभामा जानकारीका लागि पेश गर्ने निर्णय गरिएको छ। उक्त सम्झौता २०८२ फागुन ५ गते हस्ताक्षर गरिएको थियो।

सरकारले २०६२/०६३ सालदेखि २०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग गठन गरेको छ। उक्त आयोगको संयोजकमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन् भने सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।

त्यसैगरी, २०८२ भदौ २३ र २४ गते घटेको घटनाको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा सुरक्षा संयन्त्रको अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा सशस्त्र प्रहरी बलका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य रहनुभएकाे छ ।

प्रकाशित मिति : 19:47