एपोलो हाइड्रोपावरको आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिने सकिने
३० चैत, काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले छिटोमा आज (चैत ३० गतेसम्म) आईपीओ निष्काशन गरेको भएतापनि चैत २३ गते सोमबारबाट लागु हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने नेपाल सरकारबाट निर्णय भएकोले आईपीओ निष्काशन बन्द छिटोमा २०८३ वैशाख २ गते र ढिलोमा वैशाख १० गते हुने जनाएको थियो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि १८ हजार ८०० कित्ता शेयर बाँडफाँड गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 10:07









