राप्रपाको महाधिवेशन मिति एक साताभित्रै घोषणा गर्न असन्तुष्ट पक्षको माग
२९ चैत, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्षले आज काठमाडौंमा भेला गरेका छन्। आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउन माग गरेको हो । अध्यक्ष राजेन्द्र लिङ्देनसँग तीन बुँदे माग राख्दै महाधिवेशन गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरिएको छ ।
लिङ्देनलाई पत्र लेखेर एक सातााभित्रै महाधिवेशन मिति तय गर्न भनेका छन् । निर्वाचनबाट प्राप्त नतिजाको विश्लेषण गरेको राणा पक्षधरको बैठकले पार्टी ‘ सच्चिने कि सकिने’ गम्भीर अवस्थामा रहेको विश्लेषण गरेको छ । महाधिवेशनको माग गर्दै भनिएको छ,‘केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन । केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अतिरिक्त अवधिमा छ । पार्टीले म्याद थप गर्ने निर्णय गर्दा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जगजाहेर छ ।’
निर्वाचनअघि अध्यक्ष लिङ्देनले,‘मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु’ भनी दिएको अभिव्यक्ति स्मरण गराउँदै असन्तुष्ट पक्षले नतिजा ‘अकल्पनीय र नकारात्मक’आएको दाबी गरेको छ। पत्रमा चुनावी असफलताको डेढ महिना बितिसक्दा पनि नेतृत्वले कुनै नैतिक जिम्मेवारी वहन नगरेको र समीक्षा समेत नगरेको आरोप लगाइएको छ।
शर्मनाक पराजयको कुनै लेखाजोखा र नैतिक जिम्मेदारी वहन नगरिएको भन्दै राणा पक्षले आपत्ति जनाएको छ । बैठक पछिको निर्णयमा भनिएको छ,‘संकट र चिन्ताको यस घडीमा केन्द्रबाट दिशानिर्देश हुन्छ भनेर प्रतिक्षारत देशभरीका पार्टीपंक्तिको हात रित्तो छ । शून्यताबीच लाखौं कार्यकर्ता र पार्टीकै भविष्यलाई लिएर गम्भीर प्रश्न कायम छ । यसैबीच नेता, कार्यकर्ताहरुबाट पार्टी जिम्मेवारी र पार्टी सदस्यता परित्याग गर्ने क्रम जारी छ ।’
यस्तै, उपसभामुखको निर्वाचनमा पार्टीले लिएको निर्णय र उम्मेदवारी दिने प्रक्रियामा विधि र पद्धति मिचिएको भन्दै असन्तुष्ट समूहले आपत्ति जनाएको छ। केन्द्रीय कार्यसमितिमा छलफल नै नगरी लिइएका निर्णयहरूले प्रजातान्त्रिक अनुशासन उल्लंघन गरेको उनीहरूको ठहर छ।

प्रकाशित मिति : 16:48









