२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नयाँ र पुराना दलको साइनबोर्ड फरक हो, विचारको नाभी एकै ठाउँमा छः ज्ञानेन्द्र शाही

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक भएको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले नयाँ र पुराना दलको विचारको नाभी एकै ठाउँमा रहेको जिकिर गर्नुभएकाे हाे ।

उहाँले भन्नुभएकाे छ,  ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

उहाँले संसदमा सङ्ख्याको हिसाबले कम भएपनि बलियो प्रतिपक्ष आफूहरू मात्रै भएको बताउनुभयाे। उहाँले उपसभामुखमा रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन पाएरै उम्मेदवारी दिएको समेत बताउनुभएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘सबैभन्दा ठुलो दलबाट नै प्रस्ताव आएपछि अन्य पुराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुङ्गोमा पुगेका थियौँ। यसै सन्दर्भमा हिजो बिहान एकातिर उपसभामुखको निर्वाचन सम्बन्धी छलफलमा अन्य प्रतिपक्षी दलहरूले राप्रपालाई बाइपास गरी छलफल चलाइरहेका थिए भने, अर्कातिर रास्वपा सभापतिबाटै सहयोगको आश्वासन प्राप्त गरेपछि राप्रपा संसदीय दलको सर्वसम्मत निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका हौँ।’

एक थान उपसभामुख पद प्राथमिकता नरहेको उल्लेख गर्दै उहाँले भन्नुभएकाे छ, ‘ तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, अन्य पूराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।’

प्रकाशित मिति : 17:09