रमेश लेखकले भनेः प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताउनुभएको छ । लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
लेखकले फेसबुकमा लेख्नुभएको छ, ‘गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततस् म रिहा भएको छु ।’
उहाँले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार पनि व्यक्ति गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’ उहाँले रिहा गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
‘परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु । म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु,’ उहाँले लेख्नुभएको छ, ‘बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ ।’

प्रकाशित मिति : 11:54









