२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आइतबार पनि ओपीडी सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गर्ने सूचना जारी गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् ओपीडी सेवा सञ्चालन गर्न निर्देशन जारी गरेको हो ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिँदै त्यसो गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिएर सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

प्रादेशिक अस्पताल तथा सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई पनि सोही अनुसार गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : 10:50