रास्वपाद्धारा श्रममन्त्री साहलाई कारवाही गर्न सिफारिस
२६ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहविरुद्ध कारबाहीको सिफारिस गरेको छ।
पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाइएको छ। पत्रअनुसार उनले श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गराउने कार्य गरेको उल्लेख गरिएको छ।
यस विषयमा पार्टीको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी कारबाही आवश्यक रहेको निष्कर्ष निकालेको जनाइएको छ। आयोगको सिफारिस अनुसार मन्त्री साहमाथि जिम्मेवारीबाट अलग गर्ने प्रक्रिया अघि बढाउन पत्रमार्फत आग्रह गरिएको छ।
पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकोल’ समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै पार्टीले मन्त्रीलाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गरेको छ।
साथै, यस्ता गम्भीर विषयमा अपेक्षित जिम्मेवारी नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन सिफारिस गरिएको पत्रमा उल्लेख छ।

प्रकाशित मिति : 15:49









