रिहा भएपछिपछि ओलीको प्रतिकृयाः पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि छुटेँ
२६ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताउनुभएको छ । सरकारद्वारा पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै ओलीले अन्ततः मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताउनुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उहाँले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै उहाँले प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।
ओलीले आफ्नो रिहाइको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताउनुभएको छ । राज्य उदासीन भए पार्टीले नै उपचार खर्च बेहोर्ने जानकारी समेत उहाँले दिनुभएको छ ।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उहाँले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति पनि आभार व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : 13:48









