शिक्षामन्त्रीले गरे फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता
२४ चैत, सुदूरपश्चिम । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको आज निरीक्षण गर्नुभएको छ ।
त्यस अवसरमा उहाँले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “फाप्ला आयोजनाको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता प्राविधिक प्रक्रियाहरू सम्पन्न भइसकेका छन् । यो आयोजना राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउनेछ ।”
निरीक्षणका क्रममा उक्त क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाहीले परियोजना निर्माणबारे जानकारी गराउनुभएको थियो । उहाँले निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने भन्दै सरकारले प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डिपिआर, इआइए जस्ता प्राविधिक प्रक्रियाहरू गत असार महिनामा पूरा भई राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेको छ ।
निरीक्षण टोलीमा प्रतिनिधिसभाका सदस्य आनन्दबहादुर चन्द र केपी खनाललगायत सहभागी हुनुहुन्थ्यो । धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्षसमेत रहनुभएका निर्माण समितिका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा धनगढीको फाप्ला मैदानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि ‘ड्रिम फाप्ला’ अभियान अघि सारिएको थियो । खेलग्रामअन्तर्गत यहाँ अन्तरराष्ट्रिय मापदण्डअनुरुप ५० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण गरिने लक्ष्य छ ।
यस्तै, रङ्गशालामा फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टी स्पोटर्स हल, स्पोटर्स म्युजियमलगाएतका पूर्वाधारहरू समावेश गरिने छन् । आयोजनाको लागत रु २६ अर्ब अनुमान गरिएको छ ।
प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १६:४९













