कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२४ चैत, काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सोमध्ये ९ लाख १० हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ भने र ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनस्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझङ्ग र डिलासिनी गाउँपालिका, बैतडि शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
प्रकाशित मिति : 10:06









