२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

फेवाताल जग्गा प्रकरणमा ठगिँए, अदालत जान्छुः गृहमन्त्री गुरुङ

२३ चैत, काठमाडौं । पोखराको फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरूङले आफू ठगिएको र कानुनी उपचारमा जाने बताउनुभएको छ । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङसहित तीन जनाले जग्गा लिजमा लिनुभएको थियो । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको गृहमन्त्री गुरूङले बताउनुभएको छ ।

फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिजमा लिएको भेटिएपछि उहाँ  विवादमा तानिनुभएको थियो । फेवाताल अतिक्रमित गरेर बनाइएका संरचनामा पोखरा महानगरले भत्काउन थालेपछि मन्त्री गुरुङले स्पष्टीकरण दिनुभएको छ ।

‘हामीलाई झुक्क्याएर, ठगेर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउनेबित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन,’ गृहमन्त्री गुरूङले भन्नुभएको छ ।

जग्गाधनीहरूले ‘हामीलाई उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको भनी देखाए । तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्ने रहेछ,’ मन्त्री गुरुङले भन्नुभएको छ । अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिँदा आफू सहित साझेदार ठगिएको गुरुङको दाबी छ ।

अतिक्रमित जग्गा आफूहरुलाई झुक्याएर लिजमा दिएको जानकारी प्राप्त हुनासाथ निर्माण कार्य र लगानी रोकेको मन्त्री गुरुङले जनाउनुभएको छ । ठगीविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री गुरुङले बताउनुभएको छ । ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदछु,’ गुरुङले भन्नुभएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार ११:३५