१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला

२२ चैत, काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

 कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : April 5, 2026 at 9:24 am