२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि थप

२२ चैत, काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप भएको छ । कम्पनीले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि थप भएको हो ।

चैत २२ गतेसम्म आवेदन दिने म्याद दिइएकोमा अब भने उक्त आईपीओमा वैशाख ७ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । उक्त समयावधि भित्र मागभन्दा बढी आवेदन प्राप्त भएमा भने निर्धारित समयावधि अगावै आईपीओ निष्कासन कार्य बन्द गरिनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएको छ। सो सेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार ०९:१६