आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, १ जनाको अवस्था गम्भीर
२० चैत, काठमाडाैँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोध गर्दा खसेका अवशेषका कारण १२ जना घाइते भएका छन्।
घाइतेमध्ये ६ जना नेपाली र ५ जना भारतीय नागरिक रहेका गल्फन्युजले जनाएकाे छ। अर्का एक नेपाली नागरिकको अवस्था गम्भीर रहेको जनाइएको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
यूएईको वायु रक्षा प्रणालीले मिसाइल र मानवरहित ड्रोनहरूलाई सफलतापूर्वक अवरोध गरेपछि त्यसका टुक्राहरू विभिन्न स्थानमा खसेका थिए । जसका कारण अज्बान क्षेत्रमा सर्वसाधारण घाइते भएका हुन्।
घटनालगत्तै आपतकालीन उद्धार टोली घटनास्थलमा खटिएको थियो र प्रभावित क्षेत्र सुरक्षित बनाउनुका साथै घाइतेहरूको उपचार गरिएको अधिकारीहरूले बताएका छन्।
यसैबीच, हब्सान ग्यास सुविधास्थल नजिक पनि अवशेष खस्दा आगलागी भएको थियो। सो स्थानमा केही समयका लागि सञ्चालन स्थगित गरिएको भए पनि मानवीय क्षति नभएको जनाइएको छ।
यूएईको रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीद्वारा मिसाइल र ड्रोन आक्रमणलाई निष्क्रिय पारिएको पुष्टि गरेको छ। केही स्थानमा सुनिएका ठूलो आवाजहरू सोही सुरक्षा कारबाहीसँग सम्बन्धित रहेको बताइएको छ।
अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह नफैलाउन आग्रह गरेका छन्।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार २३:२८













