अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ
२० चैत, भक्तपुर । आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका-३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ महानगरपालिका-८ गौशलाबाट पक्राउ गरिएको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-२ घरभई हाल सूर्यविनायक नगरपालिका-५ बस्दै आएका ४७ वर्षीय पुर्णबहादुर थापाको घरमा गएर राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै निजलाई डर, धाकधम्की दिई अपहरण गरी होटलमा लगेर शरीर बन्धक बनाएको कसुरमा खड्कालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्कालाई आजै अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रनाउ जवेगुले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार २०:२७













