एमाले सचिवालय बैठकले गर्याे यी ६ निर्णय
२० चैत, काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ । बैठकले संसदीय अभ्यासदेखि सरकारका नीतिगत निर्णयहरूसम्ममा आफ्नो धारणा स्पष्ट पारेको हो ।
बैठकले संसदीय दलको नेता प्रजातान्त्रिक विधिबाट चयन गरिएको स्पष्ट पार्दै त्यस प्रक्रियामा कुनै बाह्य हस्तक्षेप नभएको जनाएको छ ।
त्यस्तै, कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन तथा अन्य संवैधानिक निकायका सम्बन्धमा दिएको विवादित अभिव्यक्तिबारे गम्भीर समीक्षा गरिएको जनाउँदै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट गरिएको छ ।
यसैगरी, एमालेले पार्टीका नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

यस्तै, सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै बैठकले त्यसको कडा विरोध गरेको छ ।
त्यसैगरी, सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयले प्रेस स्वतन्त्रता कुण्ठित हुने ठहर गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरिएको छ ।
बैठकले पश्चिम एसियामा जारी द्वन्द्वका कारण जोखिममा परेका वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको उद्धार र सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।


प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार २०:१६













