रास्वपाका नेता हरिअधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२० चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम अनियमित रूपमा खर्च गरेको ठहरसहित बिहीबार विशेष अदालतमा भ्रष्टाचारमुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता हुने अन्यमा मालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री र सदस्य हरि प्रसाद अधिकारी रहनुभएको छ ।

अख्तियारका अनुसार समितिका पदाधिकारीहरूले बिना निर्णय रकम खर्च गर्ने, नक्कली कागजात बनाएर भुक्तानी लिने, काठ बिक्रीबाट आएको रकम खातामा नजम्मा गर्ने लगायतका अनियमितता गरेका छन् । यस्तै, बिलबिना विभिन्न शीर्षकमा खर्च देखाएर रकम हिनामिना गरिएको र लेखापरीक्षणसम्बन्धी प्रक्रियासमेत उल्लंघन गरिएको अभियोगमा उल्लेख छ ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १७:५३













