जलशक्ति हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
२० चैत, काठमाडाैं । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाको पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले उक्त आयोजनामा लगानी गर्न आइपीओ जारी गर्ने जनाएको छ ।
कम्पनीले प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँ दरको १ करोड कित्ता सेयरले हुने रकम एक अर्ब रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दा, नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकहरु, आयोजनामा कार्यरत कर्मचारीहरु, सामुहिक लगानी कोषहरु तथा सर्वसाधारण समेतमा जारी गर्न लागेको हो ।
संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने यस कम्पनीको जारी पुँजी २ अर्व ५० करोड रुपैयाँ रहने छ । कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
नियुक्ति सम्बन्धि सो सम्झौता पत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले एक समारोहका बीच हस्ताक्षर गर्नुभएकाे छ ।
प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १५:३३













