२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

एमालेलाई बचाउन एकता र आत्मसुधार आवश्यक : ईश्वर पोखरेल

२० चैत, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल ले पार्टी अहिले गम्भीर चुनौतीको भुँमरीमा परेको उल्लेख गर्दै एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले नेकपा आफ्नो स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै सुदृढ संगठनका रूपमा विकसित हुँदै आएको बताउनुभएको हो। सुसंगत विचार, व्यवस्थित विधि–पद्धति, सामूहिक नेतृत्व प्रणाली तथा आत्मसमीक्षा र आलोचनात्मक चेतकै आधारमा पार्टीले जनतामाझ आफ्नो हैसियत स्थापित गरेको उहाँको भनाइ छ।

पोखरेलले २०८२ मंसिरमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा पनि पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा गम्भीर बहस भएको स्मरण गराउनुभएको छ। उहाँले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूले उक्त पृष्ठभूमि नबिर्सनुपर्ने बताउनुभएको छ ।

उहाँका अनुसार सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद, आत्मकेन्द्रित अभिव्यक्ति तथा विधि–पद्धति विपरीत गतिविधि पार्टीका लागि हानिकारक छन्। यस्ता प्रवृत्तिबाट जोगिँदै पार्टीलाई जनप्रिय बनाउने र नयाँ गतिमा अघि बढाउने आवश्यकता रहेको उहाँले औंल्याउनुभएको छ ।

पोखरेलले विकसित परिस्थितिअनुसार सोच र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिँदै “गति अनुसार मति बनाउनुपर्ने” बताउनुभएको छ। उहाँले पार्टीभित्र एकता कायम गरेर मात्रै अहिलेका चुनौतीको सामना गर्न सकिने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ११:४९