विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब, १८.५ महिनाको आयात धान्न पुग्ने
१९ चैत, काठमाडाैं । नेपालको वैदेशिक मुद्रा सञ्चितिमा हरेक महिनामा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को फागुनसम्मको तथ्यांक अनुसार देशको कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
डलरमा गणना गर्दा २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति १८.३ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २३ अर्ब ८ करोड डलर पुगेको छ । हालको यो सञ्चिति बैंकिङ क्षेत्रसँग रहेको आयात क्षमताका आधारमा १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । केवल वस्तु आयातलाई मात्र आधार मान्दा यो सञ्चिति २१.४ महिनाका लागि पर्याप्त देखिन्छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २५.७ प्रतिशतले बढेर ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड सञ्चिति रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई रु. १४४९ अर्ब ६५ करोड पुगेकाले पनि विदेशी मुद्रा सञ्चिति बलियो बनाउन सहयोग पुगेको देखिन्छ। यस अवधिमा शोधनान्तर स्थिति पनि रु. ६५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ३१० अर्ब ३७ करोड मात्र थियो । यसरी बाह्य क्षेत्रका परिसूचकहरूमा आएको सकारात्मक सुधारले देशको अर्थतन्त्रमा राहत पुग्ने देखिएको छ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १६:५५













