२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

संसद्‌मा हर्क साम्पाङले भनेः एमसीसी खारेज गर्नुपर्छ

१९ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै साम्पाङले एमसीसी खारेजीको माग गर्नुभएकाे हाे ।  उहाँले बैठक समयमा सुरु गर्न पनि आग्रह गर्नुभएकाे छ ।

‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ । भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उहाँले भन्नुभयाे, ‘देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

उहाँले सिमाना रक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने उहाँको भनाइ थियो ।

अध्यक्ष राईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्न, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर–एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्ने माग गर्नुभयो ।

अध्यक्ष राईले वर्तमान सरकारलाई शान्ति सुरक्षाका साथै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत जनताका आवश्यकताका क्षेत्रमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराउनुभयो । विद्यार्थी सङ्गठन खारेजी, ज्येष्ठ नागरिकलाई दिइदै आएको वृद्ध भत्ता वितरणमा नयाँ मापदण्डलगायत सरकारले अघि सारेका विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव दिँदै घरबारविहीन नागरिकलाई विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने उहाँको माग थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १६:१२