१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

कांग्रेसको प्रश्नः जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने ?

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।

आज प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभएकाे हाे ।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने? आङदेम्बेले भन्नुभएकाे छ । भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उहाँले प्रश्न उठाउनुभएकाे छ ।

‘किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु- भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ। कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने। कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कार्वाहीको सिफारिस गर्‍यो। तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरिका हो? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १५:४८