२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

संसद् बैठकमा एमालेको अवरोध, ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग

१९ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।  बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध गर्नुभएको छ ।

उहाँहरूले विरोध गरेपछि सभामुख अर्जुनरसिंह केसीले सांसद गुरु बराललाई बोल्न समय दिनुभयो । उहाँले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताउनुभयो । साथै, उहाँले ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको छ ।

उहाँले भन्नुभयाे, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ, उहाँहरूलाई अविलम्ब रिहा गरियोस्।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:३६