१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न लागेकाे हाे ।

काठमाडौं महानगरपालिकाका अनुसार दुई वटा रूटमा चारवटा बस सञ्चालन गर्न लागिएको हो। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।

उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो ।

यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौं,’ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले भन्नुभयाे ।

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:१९