समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजक पदका लागि दरखास्त आह्वान
१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक पदमा दरखास्त आह्वान गरेको छ। बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग अन्तर्गतको छनोट समितिको सचिवालयले एक सूचना जारी गर्दै संयोजक पदका लागि आवेदन खुला गरेको हो ।
सूचना अनुसार, संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने प्रावधान राखिएको छ।
इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, नागरिकता र अनुभवका प्रमाणपत्रहरू सहित २०८३ वैशाख ९ गते बुधबार कार्यालय समयभित्र नेपाल राष्ट्र बैंक, बालुवाटारस्थित छनोट समितिको सचिवालयमा दरखास्त फाराम पेस गर्नुपर्नेछ।
उक्त पदको सेवा अवधि एक वर्ष तोकिएको छ । संयोजकका लागि मासिक १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । यसका अतिरिक्त दशैं खर्च बराबरको भत्ता तथा वार्षिक १२ दिन विदाको सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १०:५४













