एमालेलाई ‘निजी क्लब’बाट मुक्त गराउन सुरेन्द्र पाण्डेको अपिल
१८ चैत, काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई कसैको‘निजी क्लब’बाट मुक्त गराउन अपिल गर्नुभएको छ । बुधबार फेसबुक मार्फत पाण्डेले पार्टी महासचिव शंकर पोखरेलको प्रवृतिको चर्को आलोचना गर्नुभएको छ ।

पोखरेलले संसदीय दलको नेता चयनमा गरेको बदमासी माथि टिप्पणी गर्दै पाण्डेले फेसबुकमा यस्तो टिप्पणी गर्नुभएको छ,
संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ। एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो।
जब नेतृत्व “म नै पार्टी र पार्टी नै म” भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ।
९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुल्यो भने कहिले खुल्ने? अब स्पष्ट छ – पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन। पार्टीलाई कसैको ‘निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार २२:०६













