२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

सुहाङले प्रस्ताव र समर्थक भेटेपछि शंकर पोखरेलले उम्मेदवरी नै दर्ता गर्न दिएनन्

१८ चैत, काठमाडौँ । सुहाङ नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा प्रस्ताव र समर्थक पाएर पनि उम्मेदवारी दर्ता गर्न नपाएपछि रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । चुनाव हारेका पार्टी महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि सुहाङले प्रस्ताव र समर्थक पाएर पनि उम्मेदवारी नै दर्ता गर्न पाउनुभएन ।

अर्जुन कर्की र राजेन्द्र राई प्रस्तावक र समर्थकका लागि तयार भएपछि शंकरले हस्तक्षेप गरेर सुहाङलाई एउटा कोठामा थुनेर धम्क्याएर उम्मेदवारी नै दर्ता गर्न नदिएको प्रत्यक्षदर्शी रहेका एमालेका एक सांसदले दैनिकीसँग बताए । पोखरेलले कार्की र राईलाई पनि कोठामा थुनेर किन सुहाङका लागि प्रस्तावक र समर्थक बस्न खोजेको भन्दै धम्की दिएको ती नेताले बताए ।

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उपाध्यक्ष रामबहादुर थापा बादललाई दलको नेता बनाएको प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको छ । त्यसबारे असन्तुष्टि जनाउँदै उहाँले भन्नुभएको छ, ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिङ्गो पार्टीपङ्तिलाई थप चिन्तित बनाएको छ।’

संसदीय दलको नेता चयनको विषयमा एमालेमा चर्को आलोचना सुरू भएको छ । पार्टीका पदाधिकारीसहितका नेताहरूले नै सुहाङको उम्मेदवारी रोकेकोमा असहमति आपत्ति जनाएका छन । प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

सुहाङ नेम्वाङले संसदीय दलको नेताका लागि भरेको मनोनयन फारम । अर्जुन कार्की र राजेन्द्र राईले प्रस्ताव र समर्थक बनेर उम्मेदवारी बलियो बनाउन लागेको थाहा पाएपछि पार्टी महाचसिव शंकर पोखरेलले दुबैलाई आफ्नो कार्यकक्षमा बोलाएर सांसद पद नै चैट पारिदिने चेतावनी दिनुभएको थियो । त्यसपछि सुहाङले उम्मेदवारी नै दर्ता गराउन पाउनुभएन ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १८:१३