पीएसओ र पीएसपीको भूमिका बुझेर डिजिटल भुक्तानीको उपयोग गर्न राष्ट्र बैंकको आग्रह
१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसओ) को भूमिका बुझ्नेर डिजिटल भुक्तानीको सही उपयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सन्दैश जारी गर्दै यस्ताे आग्रह गरेको हाे ।
भुक्तानी तथा फछ्र्योट प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरू यसअन्तर्गत पर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ । त्यस्ता संस्थाहरू भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक गरी दुई किसिमका हुन्छन् ।
पीएसपीले सर्वसाधारण सेवाग्राहीका लागि वस्तु, सेवा, सम्पत्ति, वा अन्य दायित्व बापतको रकम भुक्तानी गर्ने, स्वदेशमा रकम स्थानान्तरण (ट्रान्स्फर) वा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने गर्दछन् । यस्तै, पीएसओले समाशोधन गृह, विद्युतीय कार्ड वा अन्य (अनलाइन) भुक्तानी सञ्जाल सञ्चालनमार्फत भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्दछन् । हाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिई २१ वटा पीएसपी र ८ वटा पीएसओ सञ्चालनमा छन् ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १२:०६













