महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी दिन अदालतको अस्वीकार
१६ चैत, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले एमाले सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतविरुद्ध पक्राउ पुर्जी माग गर्दै अदालतमा निवेदन दिएको थियो। तर, अदालतले हाललाई पुर्जी जारी नगर्ने निर्णय गरेको हो। बस्नेतबाट आफू पीडित भएको दाबी गर्दै शोभा पाठकले आइतबार पुनः जाहेरी दर्ता गराउनुभएको थियो। उहाँले बस्नेतमाथि जबरजस्ती करणी तथा भ्रूण हत्या सम्बन्धी आरोप लगाउनुभएको थियो ।
यसअघि उक्त जाहेरीमाथि काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णयलाई सदर गर्ने वा नगर्ने भन्ने विषय हाल उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ।
मुद्दा उच्च सरकारी वकिल कार्यालयमा विचाराधीन रहेकाले हाललाई पक्राउ पुर्जी जारी नभएको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च सरकारी वकिल कार्यालयको निर्णयपछि मात्र थप प्रक्रिया अघि बढाइनेछ।
प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १७:३१













