प्रशासन प्रमुख शितल महतोलाई नै प्रधानसम्पादक बनाएर राससबाट विदा भए धर्मेन्द्र झा
१६ चैत, काठमाडाैँ । शितल महतोलाई प्रशासन र प्रधानसम्पादक बनाएर राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले चैत १६ बाटै लागू हुनेगरी सञ्चार थता सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनालाई राजीनामा दिनुभएको बुझिएको छ । उहाँले केही दिनअघि मात्र राससमा जिम्मेवारीमा व्यापक हेरफेर गर्दै प्रशासन प्रमुख महतोलाई नै प्रधानसम्पादकको पनि जिम्मेवारी दिनुभएको थियो ।
झाले राजीनामा पत्रमै हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात् गरेर पद त्याग गरेको उल्लेख गर्नुभएको छ । उहाँले नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु भनेर राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससकाे अध्यक्षमा नियुक्त गरेको थियो । झाको राजीनामासँगै नेकपा एमालेको कोटामा राससको महाप्रबन्धकमा नियुक्त हुनुभएको सन्दीप राई समस्यामा पर्नुभएको छ ।
अध्यक्षको राजीनामा पछि राईमा पनि नैतिक दबाब परेको छ । यद्यपी राईले कतिको नैतिकता देखाउनुहुन्छ त्यो भोलिको दिनमा देखिनेछ । यसैबीच सोमबारबाट गोरखापत्रको महाप्रबन्धक पनि खाली भएको छ । लाल ऐरीको कार्यकाल सोमबारबाट सकिएको छ ।
प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १५:२०













