१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ सकियो, के आउला आदेश ?

१६ चैत, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सकिएको छ । ओलीको रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भएको छ भने लेखकको न्यायाधीश कुमार रेग्मीको इजलाशमा भएको छ ।

शनिबार बिहान प्रहरीले ज्यान मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ परेपछि ओलीका हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो ।

एमाले अध्यक्ष ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, राधेश्याम अधिकारी, विजयप्रसाद मिश्रलगायतले बहस गर्नुभएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले ओली र लेखक दुबैलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

सुनुवाइ सकिएकाले केहीबेरमा आदेश आउने अपेक्षा गरिएको छ । कतिपयले आदेश न्यायाधीशहरूको विगतको पृष्ठभूमिले प्रभावित पार्न सक्ने अनुमान समेत गरेका छन । दुबै न्यायाधीश तत्कालीन ओली सरकारको समयमा सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो । दुबै जना नेपाली कांग्रेसको कोटामा नियुक्त हुनुभएको न्यायाधीश हुनुहून्छ । रेग्मी त कांग्रेसको केन्द्रीय सदस्यमा पराजित लगत्तै सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १५:०६