१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

जिम्मेवार र व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउन आह्वान

१५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा अध्यक्ष निर्मला शर्माले जिम्मेवार र व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउन आह्वान गर्नुभएको छ।

महासंघको ७१औँ वर्ष प्रवेशको सन्दर्भमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष शर्माले देश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, महासंघका सदस्य तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले स्थापनाकालदेखि हालसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै प्रेस स्वतन्त्रताको लडाइँमा सहादत प्राप्त पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

सात दशक लामो इतिहास बोकेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उहाँले व्यावसायिक, जवाफदेही पत्रकारिताबाट विधिको शासन र सुदृढ लोकतन्त्र स्थापना गर्ने लक्ष्यमा संस्था केन्द्रित रहेको बताउनुभयो।

अध्यक्ष शर्माले सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालमार्फत मिथ्या सूचना फैलिने क्रम बढेकाले पाठकलाई सही र गलत सूचना छुट्याउन चुनौती थपिएको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा सञ्चारकर्मीहरूले जिम्मेवार पत्रकारिता गर्दै महासंघको गरिमा उच्च राख्नुपर्ने उहाँको भनाइ छ।

भर्खर सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको करिब दुई तिहाइको सरकारबाट राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्दै उहाँले सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग छलफल गरी शीघ्र ल्याउन सरकारसँग आग्रह गर्नुभयो। साथै, विभिन्न आन्दोलन तथा घटनामा प्रभावित सञ्चारगृह र पत्रकारलाई क्षतिपूर्ति दिलाउन आवश्यक रहेको उहाँले बताउनुभयो।

पत्रकारको भौतिक तथा पेशागत सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य मजबुत बनाउने प्रतिबद्धता जनाउँदै उहाँले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसको सशक्त प्रतिवाद गरिने स्पष्ट पार्नुभयो।

महासंघले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरिरहेको जानकारी दिँदै अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न सबै सञ्चारकर्मीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ०८:०४