१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत, म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् ।पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका हुन् ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिको आयोजनामा पर्यटन व्यवसायी, जनप्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको टोलीले फर्से-नयाँपुल खण्डमा र्‍याफ्टिङको शुभारम्भ गरे ।

र्‍याफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको र्‍याफ्टिङमा ३८ जनाको सहभागिता रहको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताउनुभयो । “पोखरादेखि सवारीमा दुई घण्टामा पुग्न सकिने फर्से-नयाँपुल खण्डमा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कुश्मा, बागलुङ, बेनी, गलेश्वर पनि घुम्न पाउँछन्, प्रकृति, संस्कृति र साहसिक पर्यटन मन पराउनेका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ”, उहाँले भन्नुभयो ।

फर्सेदेखि नयाँपुलसम्म करिब १० किलोमिटर दूरीमा र्‍याफ्टिङ गर्न एक घण्टा ३० मिनेट लाग्छ । पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्‍याफ्टिङको प्रवर्द्धन गरेको थियो ।

एकपटकमा एउटा बोटमा आठ जनाले र्‍याफ्टिङ गर्न सक्ने र्‍याफ्टिङ रनरका सञ्चालक वीरेन्द्र लामाले बताउनुभयो । विदेशी पर्यटकका लागि नयाँपुलदेखि गुल्मीको रिडीसम्म तीन दिनको र्‍याफ्टिङ प्याकेज उपलब्ध गराइएको छ ।

कात्तिक र चैत महिना र्‍याफ्टिङका लागि अनुकूल याम मानिन्छ । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकन गर्न पाउँदा रोमाञ्चक महसुस भएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १०:२६