आयल निगमको गाडी डिभाइडरमा चढाएर भागेका चण्डिका भट्ट यसरी समातिए (भिडियो)
१४ चैत, काठमाडाैँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले तीव्र गतिमा कुदाउँदा शनिबार निगमको गाडी दुर्घटनामा परेको छ । कलंकी चोक नजिकै मकालु पेट्रोल पम्पको अघि भट्टले प्रतिघण्टा झण्डै ८० किलोमिटरको स्पिडमा चलाएको टोयटाको कम्पनीको र्याभ फो गाडी डिभाइडर फुटाएर डिभाइडर माथि चढी करिब ५ मिटर अघि पुगेको छ ।
दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा भट्टले तीव्र गतिमा चलाएको बागमती बि ए ए ७६५४ नम्बरको गाडी डिभाइडरमा चढेको थियो । दुर्घटना लगत्तै गाडीको ढोका खोलेर भागेका भट्टलाई प्रत्यक्षदर्शीले लखटेर समातेका थिए । भट्टले चलाएको गाडी सितापाइलातर्फबाट कलंकी चोकतर्फ अनियन्त्रित भएर गुडिरहेको थियो ।

सरकारी गाडी विदाको दिनमा तीव्र गतिमा कुदाएर दुर्घटनामा पारेको भन्दै कतिपयले कुटपिटको प्रयास गरेका थिए । तर पछि उनी प्रत्यक्षदर्शी र प्रहरीको नियन्त्रणमा रहन तयार भएपछि भीड शान्त भएको थियो । भिडले भट्टको मापसे जाँच गर्न माग गरेको थियो । भट्टको प्रस्तुती असामान्य देखिएको थियो ।
लगत्तै क्रेन बोलाएर गाडी तानेर लगिएको थियो । प्रहरीले भट्टले मापसले गरेको नपाइएको दाबी गरेको छ । भट्टको लापरवाहीले दुर्घटनामा परेको गाडीमा लाखाैँको क्षति भएको छ । गाडी डिभाइडरमा चढेर धसिदा गियर बक्स फुटेको छ भने इन्जिनमा समेत समस्या देखिएको छ । गाडीको अगाडी र पछाडीको भागमा समेत क्षति पुगेको छ ।
दुर्घटनाका प्रत्यक्षदर्शी एकजनाले शनिबारको दिन सरकारी सवारी सधानको दुरूपयोग गरेर दुर्घटनामा परेका कारण गाडी मर्मतको खर्च भट्टलाई भराउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार २०:०९














