११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

एमालेले ओलीको रिहाइका लागि सिडिओलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, चैत १४ । नेकपा एमाले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तत्काल रिहा गर्न माग गर्दै देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।

आज बसेको एमाले सचिवालय बैठकले ओलीको पक्राउप्रति आपत्ति जनाउँदै कानुनी र राजनीतिक दुवै तहबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि जारी निर्णयअनुसार पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

एमालेले आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने जनाएको छ। यस्तै, भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।

पार्टीले लोकतन्त्र र कानुनी राज्यको पक्षमा उभिएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संवाद र सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ।

एमालेले ओलीको रिहाइलाई राजनीतिक पूर्वाग्रहसँग जोडिएको भन्दै यसप्रति देशव्यापी जनदबाब सिर्जना गर्ने रणनीति अघि सारेको जनाएको छ।

प्रकाशित मिति : 11:47