१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

१३ चैत, काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभारग्रहण गर्नुभएको छ ।

उहाँ नेपालको पहिलो वादी समुदायको मन्त्री बन्नुभएको छ । पदभार ग्रहण गरेसँगै उहाँ भावुक हुनुभयो । आँखाबाट आँसु पुछ्दै उहाँले भन्नुभयो, “सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर ।” उहाँले समाजको जातीय बहिष्करणमा सङ्घर्ष गर्दागर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै रुपान्तरण आएको महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब जिम्मेवारपूर्ण भएर समाज रुपान्तरणका सक्रिय हुने छु ।”

महिला सशक्तिीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आउनुभएको छ । गरिबी र समाजको विभेदका कारण जीवनका पाइलै पिच्छे पहिचानका लागि सङ्घर्ष गर्दै आउनुभएकी उहाँ रास्वपामा आबद्ध हुनुभएको थियो ।

समानुपातिकबाट सांसद हुुनुभएको उहाँले १३ वर्षको उमेरदेखि संस्थाको आर्थिक सहयोगमा पढाइ पूरा गर्नुभयो । स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै उहाँले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तिकरणमा सहयोग पुग्ने सामाजिक संस्था सञ्चालन गर्दै आएनुभएको थियो । अब भने मन्त्रायको नेतृत्व सम्हाल्दै बृहत्तर रुपमा महिला सीमान्तकृत समुदायको समस्या समाधान गर्न काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १६:४७