‘अक्षरमा अनुभूति’सहित सार्वजनिक हुँदै इन्दिरा रेग्मी
१३ चैत, काठमाडाैँ । साहित्यकार इन्दिरा रेग्मीको मुक्तकसङ्ग्रह ‘अक्षरमा अनुभूति’ सार्वजनिक हुने भएको छ । यही चैत २१ गते काठमाडाैँमा एक कार्यक्रम मार्फत ‘अक्षरमा अनुभूति’ सार्वजनिक गर्ने तयारी भए पनि निश्चित भने भएको छैन । नोबेल साकोस साहित्य संस्था, काठमाडौंद्वारा प्रकाशित उक्त कृतिमा समसामयिक समाज, जीवनदर्शन, प्रेम, अध्यात्म र मानवीय संवेदनाका विविध पक्षहरूलाई मुक्तकमार्फत अभिव्यक्त गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका–११, गेर्खुमा जन्मिएकी रेग्मी हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११, नेपालटारमा बसोबास गर्दै आएकी छन् । उनी लामो समयदेखि साहित्य, यात्रा र अध्यात्ममा रुचि राख्दै सिर्जनात्मक लेखनमा सक्रिय रहँदै आएकी साहित्यकार हुन् ।
रेग्मीले यसअघि पनि विभिन्न साहित्यिक संस्थाबाट सम्मान तथा कदर प्राप्त गरिसकेकी छन् । रामपुर साहित्य प्रतिष्ठान, आधुनिक साहित्य प्रतिष्ठान, साहित्य संगम नुवाकोटलगायतका संस्थाहरूले उनलाई सम्मानित गरेका छन्। त्यस्तै, विभिन्न साहित्यिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएकी उनी नोबेल साकोस साहित्य संस्था केन्द्र, साहित्य संगम नुवाकोट र पल्लव साहित्य प्रतिष्ठानसँग आबद्ध छन्।
प्रकाशकका अनुसार ‘अक्षरमा अनुभूति’ ले पाठकलाई सरल तर गहिरो भावमार्फत जीवनका विविध आयामबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। साहित्यप्रेमीहरूबीच उक्त कृति सकारात्मक रूपमा ग्रहण हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ०८:०५














