१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

मार्जिन कारोबार सुरु गर्न नेप्सेले पारित गर्यो कार्यप्रक्रिया

१२ चैत, काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गरेकाे छ । बुधवार बसेको नेप्से सञ्चालक समिति बैठकले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित दोस्रो बजारमा ब्रोकरमार्फत् ऋण लिएर सेयर किन्ने व्यवस्थाको बाटो खुला भएकाे छ ।

नेप्सेले धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया बनाई लागू गरेको हो ।

कार्यप्रक्रिया परिच्छेद ३ अनुसार सबै सूचीकृत कम्पनीमा मार्जिन सुविधा पाइने छैन । यसका लागि कम्तीमा २५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको हुनुपर्ने, कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) चुक्ता पूँजीभन्दा बढी भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफामा रहेको हुनुपर्ने। साधारण निष्कासन भई सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने भनिएको छ । यस्तै, नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र यस्ता योग्य कम्पनीहरूको सूची अद्यावधिक गरी सार्वजनिक गर्ने कार्यप्रक्रियामा उल्लेख छ।

कार्यविधि अनुसार लगानीकर्ताले मार्जिन कारोबार गर्दा खरिद रकमको न्यूनतम ३० प्रतिशत ‘प्रारम्भिक मार्जिन’ का रूपमा राख्नुपर्नेछ। त्यस्तै, बजारको अवस्था हेरी न्यूनतम २० प्रतिशत ‘सम्भार मार्जिन’ कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। यदि शेयरको मूल्य घटेर सम्भार मार्जिनभन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्नेछन्।

ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम ५ गुणासम्म मात्र मार्जिन सुविधा उपलब्ध गराउन पाउने सीमा तोकिएको छ। एउटा ग्राहकलाई आफ्नो प्रमाणित नेटवर्थको ५ प्रतिशतभन्दा बढी मार्जिन सुविधा दिन पाइने छैन।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने धितोपत्र दलाल (ब्रोकर) कम्पनीको चुक्ता पूँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ। साथै, उनीहरूले राफसाफ सदस्यको सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यको रूपमा काम गरिरहेको हुनुपर्ने सर्त राखिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १८:०६