१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

कार्की आयोगको प्रतिवेदन अपूर्ण छः कांग्रेस

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र अधुरो रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रतिवेदनले पूर्णता नबोकेको बताउनुभएको हो। उहाँका अनुसार प्रतिवेदनले २३ भदौको आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ भदौका घटनालाई स्पष्ट रूपमा समेट्न नसकेको देखिन्छ।

“प्रथम दृष्टिमा प्रतिवेदन अपूर्ण र अधुरो देखिएको छ, यसले पूर्णता बोकेको छैन,” चालिसेले भन्नुभयो, “यद्यपि, हामीले यसलाई अझै विस्तृत रूपमा अध्ययन गर्न बाँकी छ।”

कांग्रेसले प्रतिवेदनको गहन अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिमा कानुनविद्, शासन सञ्चालनमा अनुभव भएका व्यक्तिहरू तथा जेनजी आन्दोलनमा सहभागी युवा अभियन्ता र विज्ञहरू समावेश गरिने जनाइएको छ।

समितिले कार्की आयोगको प्रतिवेदनसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनसमेत अध्ययन गर्नेछ। त्यसपछि मात्रै पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १७:३२