१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

कोरिया पठाइदिन्छु भन्दै ‘सेटिङ’को डर देखाएर घुस असुल्ने म्यानपावर सञ्चालक रंगेहात पक्राउ

१२ चैत, काठमाडौँ । दक्षिण कोरिया पठाइदिन्छु भन्दै ‘अध्यागमन सेटिङ’को नाममा सर्वसाधारणसँग रकम असुल्ने एक म्यानपावर सञ्चालकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।

के एण्ड सी इन्टरनेशनल प्रा।लि।सँग आबद्ध ४७ वर्षीय जगत गुरूङलाई बिहीबार दिउँसो लाजिम्पाटस्थित आफ्नै कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। उनी कम्पनीका सञ्चालक हुन् भने प्रबन्ध निर्देशक शान्ति घले रहेको जनाइएको छ।

गुरूङले सोलुखुम्बुका मिङमा दोर्जे शेर्पा र उनकी श्रीमतीसँग कोरिया जान नदिने भन्दै २ लाख २० हजार रुपैयाँ मागेको आरोप छ। उनले ‘अध्यागमन कार्यालयमा सेटिङ मिलाएर मात्र जान पाइन्छ, नत्र फर्काइन्छ र टिकट पनि खेर जान्छ’ भन्दै पीडितलाई तर्साउने गरेका थिए।

पीडित शेर्पा दम्पत्तिले यसबारे अध्यागमन विभागमा उजुरी दिएपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीको समन्वयमा सिआईबीले अपरेसन चलाएर गुरूङलाई रकम लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो।

अध्यागमन विभागका अनुसार गुरूङले सिजनल (६ देखि ८ महिना) भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै यात्रुहरुसँग जनही १ लाख १० हजार रुपैयाँसम्म माग्ने गरेका थिए। पैसा नपुगे पनि ‘१० हजार कम भए पनि मिलाइदिन्छु’ भन्दै उनी पीडितहरुलाई निरन्तर पछ्याउने गरेको खुलेको छ।

पीडितका अनुसार गुरूङले यसअघि पनि ‘यस्तै तरिकाले मानिस पठाएको’ दाबी गर्दै विश्वास दिलाउने प्रयास गरेका थिए। कोरियाको भिसा लागिसकेको जानकारी पाएपछि भने उनले अध्यागमनको नाममा थप रकम असुल्न खोजेका थिए।

प्रारम्भिक अनुसन्धानबाट उनले अध्यागमन विभागको नाम दुरुपयोग गर्दै भिजिट तथा अन्य भिसामा विदेश पठाउने बहानामा रकम उठाउने गरेको आशंका गरिएको छ। पक्राउ परेका गुरूङलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, छोटो अवधिका ९एक वर्षभन्दा कम० श्रम भिसामा वैदेशिक रोजगार विभागले सामान्यतया स्वीकृति नदिने भए पनि अध्यागमनबाट प्रस्थान अनुमति लिने प्रक्रियालाई दुरुपयोग गर्दै यस्ता बिचौलिया सक्रिय भएको देखिएको छ।

गृह मन्त्रालयले भिजिट भिसामा हुने अनियमितता नियन्त्रण गर्न हालै मापदण्ड परिमार्जन गर्दै सम्बन्धित मुलुकको भिसा, ६ महिना वैध राहदानी र हवाई टिकट भएमा प्रस्थान गर्न सकिने व्यवस्था गरेको छ। साथै, यात्रुले स्वघोषणा अनिवार्य गर्नुपर्ने प्रावधान राखिएको छ।

अध्यागमन विभागले यस्ता ठगी र अनियमित गतिविधिमाथि कडाइ गरिएको र दोषीमाथि कडा कारबाही हुने जनाएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १६:३७