इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
१२ चैत, वासिङ्टन । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिनुभएको छ । उहाँले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभएको एक प्रतिवेदनले उल्लेख गरेको छ । यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको सङ्केत गर्छ ।
वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार, यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले निजी रूपमा द्वन्द्व अन्तिम चरणमा पुगेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सार्वजनिक रूपमा उल्लेख गरिसक्नुभएको चारदेखि छ हप्ताको समयसीमाभित्रै समाधान निकाल्नुपर्नेमा जोड दिनुभएको बताइएको छ । यो समयसीमा सम्भवतः मे महिनाको मध्यतिर हुने भनिएको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्भावित शिखर भेटअघि पर्ने देखिन्छ ।
बिहीबार आयोजित एनआरसिसीको वार्षिक कोष सङ्कलन कार्यक्रममा ट्रम्पले आफूले आठ वटा युद्ध समाधान गरिसकेको दाबी गर्नुभयो र इरानको सन्दर्भमा पनि त्यही उपलब्धि दोहोरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न हिच्किचाइरहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार इरानभित्रैका शक्तिहरूबाट खतरा हुने डरका कारण उनीहरू खुला रूपमा सम्झौता गर्न सकिरहेका छैनन्, साथै अमेरिकी दबाब पनि उनीहरूका लागि चिन्ताको विषय बनेको छ ।
यसैबीच, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पको प्राथमिकता शान्ति रहेको दोहोर्याउनुभएको छ । उहाँका अनुसार इरानले वार्ताको सङ्केत देखाएपछि केही आक्रमण योजनाहरू स्थगित गरिएको हो । ट्रम्पको कडा चेतावनीपछि इरान वार्तामा आउन तयार देखिएको दाबी गर्दै लेभिटले पछिल्ला केही दिनदेखि वार्ता ‘फलदायी’ भइरहेको बताउनुभयो ।
उहाँले थप स्पष्ट पार्दै इरानलाई पुनः गलत आकलन नगर्न चेतावनी दिनुभयो । पछिल्लो तनावका क्रममा इरानले आफ्नो उच्च नेतृत्व, नौसेना, वायु सेना र हवाई प्रतिरक्षा प्रणालीमा ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै, यदि इरानले वास्तविकता स्वीकार नगरेमा अमेरिका थप कडा कदम चाल्न तयार रहेको सङ्केत दिनुभयो ।
तर अर्कोतर्फ, तेहरानले भने अमेरिकी प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको छैन । इरानले द्वन्द्व अन्त्य आफ्नै सर्त र समयसीमामा मात्र सम्भव हुने अडान दोहोर्याएको छ । साथै आफ्नो माग पूरा नभएसम्म प्रतिरोध जारी राख्ने र आवश्यक परे ‘कडा प्रहार’ गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १४:०९














