देउवा समूहको घुर्की केही नेतालाई केन्द्रीय समितिमा मनोनित गरेपछि मिल्छः शंकर तिवारी
१८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर तिवारीले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नाममा जारी घुर्की र धम्की केही नेतालाई केन्द्रीय समितिमा मनोनित गरेपछि मिल्ने बताउनुभएको छ । दैनिकी संवादमा माधवप्रसाद तिवारीसँग कुरा गर्दै उहाँले देउवा समूहका नाममा नेताहरूले गरिरहेको याचना अहिलेको नेतृत्वले सुन्ने दाबी गर्नुभयो ।

उहाँले विशेष महाधिवेशनमा सहभागी हुन नपाएका र केही टिकट पनि नपाएका नेताहरूमा छटपटी देखिएको र त्यसको समाधान चाँडै नै पार्टी नेतृत्वले गर्ने विश्वास व्यक्त गर्नुभयो ।तिवारीले पार्टी नेतृत्वको विगतको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै शेरबहादुर देउवा निकट नेताहरूलाई कटाक्ष गर्नुभयो ।
२०७७ सालमै संसद विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन समाप्त भइसकेको अवस्थामा कांग्रेसले उहाँ नेतृत्वको एमालेसँग गठबन्धन गरेर पार्टी समाप्त पार्न खोजेको टिप्पणी गर्नुभयो। तिवारीले भन्नुभयो, “केपी ओलीसँगको गठबन्धन कांग्रेसका लागि ठुलो सुसाइड थियो। संविधानलाई धरापमा पार्ने काम भयो।”
युवा पुस्ता र सुधारवादी धारका नेताहरूले कांग्रेसलाई नयाँ दिशामा लैजाने प्रयास गरिरहेको उल्लेख गर्दै तिवारीले गगन थापा, विश्वप्रकाश शर्मा लगायतको नेतृत्वमा आएको नयाँ कार्यसमितिले पुरानो गल्तीबाट मुक्त भएर पार्टीलाई पुनः जनतामाझ स्थापित गर्ने संकल्प गरेको बताउनुभयो।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०७:३४













